वेबटिभी खबर
काठमाडौं । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले तालिममा एकरूपताका लागि हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एकद्वारमार्फत गर्न आग्रह गरेको छ ।
तालिम कार्यक्रम एकद्वारमार्फत पूर्णरूपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) वा सम्बन्धित निकायमा आवद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासंघले माग अघि सारेको हो ।
महासंघले आफ्नो आठौं स्थापना दिवसका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस-२०७९’ शुभकामना तथा ध्यानाकर्षण गराइएको हो । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासका लागि बुँदागतरूपमा ध्यानाकार्षण गराएको छ ।
नेपालमा हाल उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यक्ताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासंघले माग अघि सारेको हो ।
तालिम नभइ रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरू पनि दक्ष नबनी जादाँ न्युनतम पारिश्रमिक लिन बाध्य भएको महासंघको ठहर छ ।
तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासंघले अनिवार्यरूपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ । आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै देशैभर हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एकद्वारमार्फत गरिनुपर्ने संघको भनाइ छ ।
यसैगरी महासंघले देशका सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोही अनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।
महासंघका अध्यक्ष अच्युत नेपालले एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिक हककारूपमा सुनिश्चित गरिनुपर्नेमा जोड दिए । महासंघ नेपालमा विद्यमान रहेको बेरोजगारी, गरिबी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij