Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कालिका मन्दिरकाे भेटी र गरगहना सार्वजनिक

कालिका मन्दिरकाे भेटी र गरगहना सार्वजनिक

  • 340
    SHARES
  • कालिका मन्दिरकाे भेटी र गरगहना सार्वजनिक

    बाग्लुङ । बाग्लुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो ।

    गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए । सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको छ ।

    तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्फ पनि तिलहरी, घोडा, औँठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।

    २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उनले जानकारी दिए ।

    ‘केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो’, अध्यक्ष खड्काले भने, ‘सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।’

    कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन् । मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् ।

    त्यस्तै मासिकरूपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै १३ लाख २९ हजार आर्थिक संकलन भएको जनाइएको छ । सो आम्दानीबाट ९ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ ।

    कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराएका थिए । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij