Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै

मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै

  • 361
    SHARES
  • मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै

    जनकपुर । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ ।

    विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो ।

    आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट भएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशत चुहावट झरेको विद्युत् प्राधिकरणको जनकपुरधामस्थित प्रादेशिक कार्यालयले जनाएको छ ।

    आर्थिक २०७८/७९ मा सबैभन्दा बढी सिमरौनगढ वितरण केन्द्रले ९ प्रतिशत, सिरहाको लिहान वितरण केन्द्र, धनुषाको यदुकाहा वितरण केन्द्र र महोत्तरीको जलेश्वर वितरण केन्द्रले आठ/आठ प्रतिशत तथा सिरहाको मिर्चैया वितरण केन्द्रले ४ प्रतिशत विद्युत् चुहाबट नियन्त्रण गरेको उक्त कार्यालयका प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिए ।

    उनका अनुसार सिमरौनगढ वितरण केन्द्रले ५० दशमलव ७१ प्रतिशतबाट ४१ दशमलव ४ प्रतिशतमा, लहान वितरण केन्द्रले ३३ प्रतिशतबाट २५ प्रतिशतमा, यदुकहा वितरण केन्द्रले ३४ दशमलव ७३ प्रतिशतबाट २६ दशमलव ३४ प्रतिशतमा, जलेश्वर वितरण केन्द्रले ४३ प्रतिशतबाट ३५ प्रतिशतमा र सिरहाको मिर्चैया वितरण केन्द्रले ७ दशमवल ६ प्रतिशतबाट ४ दशमलव ८० प्रतिशतमा विद्युत् चुहावट झारेको छ ।

    विद्युत् चुहाबटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलंगवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ ।

    औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा ६ हजार ९६७ ग्राहकमाथि कारबाही गर्दा ६ करोड ६४ लाख ३२ हजार ८५८ महसूल संकलन भएको थियो ।

    चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने २ हजार ७९० जनालाई पक्राउ गरी कारबाही गरिएको थियो ।

    यस्तै मधेस-प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २६ हजार ५५३ ग्राहकको विद्युत् लाइन काटिएकामा २१ हजार ४८८ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट ८४ करोड ६७ लाख २४ हजार १५८ बक्यौता असूली भएको छ ।

    विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काटने अभियान चलाइएको प्रमुुख ठाकुरको भनाइ छ ।

    महसुल संकलनको हिसाबले आर्थिक वर्ष २०७८/७९ मा मधेस-प्रदेशमा सबैभन्दा बढी धनुषाको यदुकाँहा वितरण केन्द्रले १०४ प्रतिशत, सप्तरीको कञ्चनपुर वितरण केन्द्रले १०० प्रतिशत, सर्लाहीको मलङगवा, लालबन्दी र रौतहटको मौलापुर वितरण केन्द्रले १०१ प्रतिशत र जनकपुरधाम वितरण केन्द्रले ९९ दशमलव ९९ प्रतिशत विद्युत् महसुल संकलन गर्न सफल भएको थियो ।

    आर्थिक वर्ष २०७८/७९ मा मधेस-प्रदेशमा १ अर्ब ९१ करोड युनिट अर्थात १७ अर्ब ३१ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा १५ अर्ब ७७ करोड महसुल संकलन भएको थियो । मधेस प्रदेशमा विद्युतका ९ लाख ८३ हजार २३ ग्राहकमध्ये ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत ग्राहस्थ ग्राहक रहेका थिए ।

    मधेस प्रदेशका पहाडी भेगका केही बस्ती बाहेक करिब ९९ दशमलव ९८ प्रतिशतमा विद्युत् सेवा पुगिसकेको छ, भने बाँकी स्थानमा पनि विद्युत् जडानको काम भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij