Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

  • 415
    SHARES
  • बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

    बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ ।

    आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इ-रिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका हुन् ।

    उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार १ सयदेखि ४९ हजार ५०० सम्म कायम गरिएको छ ।

    यस्तै ५ लाखसम्म कर योग्य सम्पत्ति भएमा १ सय र ५ करोडदेखि माथि भएमा प्रतिहजारको दुईका दरले सम्पत्ति कर तिनुपर्नेछ ।

    इ-रिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरण बापत ५ सयका दरले १ हजार तिर्दै आएकामा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखाप्रमुख दामोदर ज्ञवालीले जानकारी दिए ।

    यस्तै, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

    त्यसैगरी सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।

    नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड राजस्व संकलनको लक्ष्य लिएको छ ।

    नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको जानकारी दिए ।

    यसअघि ७१ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा ५३ करोड संकलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij