वेबटिभी खबर
काठमाडौं । गर्मी बढेसँगै तराईका अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लाे केही दिनदेखि दैनिक २/३ वटासम्म सर्पदंशका गम्भीर बिरामी भर्ना हुने गरेका छन् ।
सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले सर्पले टोकेका बिरामीको संख्या दैनिक ५/६ जनासम्म पुग्न थालेको बताए । उनले भने, ‘तीमध्ये २/३ जना धेरै विषालु सर्पले टोकेका बिरामी अउने गरेका छन् ।’
उनले मानिसको लापरबाहीका कारण सर्पदंशका बिरामी बढ्ने गरेको बताए । रातिमा होसियारी नअपनाई हिँड्डुल गर्ने, सुत्दा ओच्छ्यान राम्ररी नहेरेर सुत्ने गरेका कारण सर्पदंशका बिरामी बढ्ने गरेको उनले बताए ।
उनले भने, ‘तराईका बढी विषालु सर्प गोमन र करेत हुन् । ती सर्प सुख्खा ठाउँमा बस्न रूचाउँछन् । करेत ओच्छ्यानमै पनि लुकेर बसेको हुन्छ । राति सुत्दा राम्ररी नहेरेर सुत्ने बानीले ओच्छ्यानमै सर्पले टोक्ने गरेको भेटिएको छ ।’
सुतेको बेला करेत सर्पले टोकेको थाहा नपाएरै कतिपय बिरामीको मृत्यु हुने गरेको कमर बताउँछन् । सुतेको समयमा करेत सर्पले टोकेको थाहा हुँदैन । कमरका अनुसार करेतले टोकेपछि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने लक्षण भएपनि ज्वरो आउँदैन ।
उनले भने, ‘सर्पले टोकेको थाहा नपाउने धेरैले ग्यास्ट्रिक भएको भन्दै सामान्य औषधि खाने गरेका छन् । धेरै स्वास्थ्यकर्मीले सर्पले टोकेको पनि हाथा पाउँदैनन् । सेती अस्पतालमा कार्यरत पुराना स्वास्थ्यकर्मीले त्यस्ता बिरामी पत्ता लगाउन सक्छन् । यदि पेट दुख्ने, बान्ता हुने । टाउको दुख्ने जस्ता लक्षण देखिए बिरामीले तुरून्त सेती अस्पतालको इमरजेन्सीमा आएर देखाउँदा राम्रो हुन्छ ।’
करेत सर्पले टोकेका बिरामी ४/५ घन्टासम्म अस्पताल आउँदा पनि उपचार हुन सक्ने उनले बताए । कोब्रा र करेत सर्पले न्युरो टक्सिन विष फाल्ने गर्दछन् । जस्ले नशामा असर गर्ने हुँदा विषको प्रभाव छिटो देखिने गर्दछ ।
तर गोमन सर्पले टोकेको खण्डमा भने एक डेढ घन्टामै सर्पदंशको उपचार भएका अस्पताल पुग्नुपर्ने उनको सुझाब छ ।
उनले भने, ‘गोमन सर्पले करेत जस्तो लुकेर टोक्दैन । गोमन भएको ठाउँ नजिक जाँदा उसले पहिला नै मानिसलाई चाल दिन्छ । तर जबर्जस्ती गरेमा गोमनले झम्टन पनि वेर लगाउँदैन ।’
गोमन सर्प दाउराको थुप्रो, झाडी भएका सुख्खा स्थानमा बस्न रूचाउने हुँदा त्यस्ता स्थानमा जाँदा मानिसले सावधानी अपनाउनुपर्ने उनको सुझाब छ । डा.कमरका अनुसार कैलाली कञ्चनपुरमा अझै पनि सर्पले टोकेमा धामीझाँक्रीमार्फत झरफुक गराउने परम्परा कायमै छ ।
जसकारण कतिपय मानिसको मृत्यु हुने र कतिपयलाई बचाउन धेरै मिहिनेत गर्नुपरेको उनले बताए ।
उनले भने, ‘सर्पले टोकेपछि तुरून्त नजिकको अस्पताल जानुको सट्टा अझै पनि धामीझाँक्रीलाई देखाउने गरेको पाइन्छ । बिरामी मर्ने अवस्थामा मात्रै अस्पताल पुर्याइने गरिन्छ । त्यस्ता बिरामीलाई बचाउन धेरै मेहनत गर्नु पर्दछ ।’
केही दिनअघि मात्रै कैलालीको गोदावरी नगरपालिका-१० स्थित मालाखेतीका बिरामी पनि धामीझाँक्रीको भरमा परेर अन्तिम अवस्थामा मात्रै अस्पताल आएको उनले बताए ।
उनले भने, ‘उनलाई बचाउन धेरै मेहनत गर्नुपर्यो, उनि जस्ता धेरै बिरामी यहाँ आउने गरेका छन् ।’ कैलाली कञ्चनपुरका ठाउँ-ठाउँमा सर्पदंश उपचार केन्द्र हुँदाहुँदै पनि मानिसले धामीझाँक्रीको भर परेर आफ्नो ज्यान आफै जोखिममा पार्ने गरेको उनले बताए ।
उनले फुकफाक गर्ने भए पनि तत्काल फुकफाक गरेर अस्पताल पठाइदिनुहोला भनेर कतिपय धामीझाँक्रीलाई सम्झाउने गरेको बताए । कमरले भने, ‘स्थानीय तहले पनि आफ्नो वडामा रहेका धामीझाँक्रीलाई सम्झाउने अभियान चलाउनु आवश्यक देखिनछ ।’
सेती प्रादेशिक अस्पतालमा हाल १७ वटा आइसियु वे र १२ वटा भेन्टिलेटर वेड छन् । पछिल्लो समय सबै आइसियु र भेन्टिलेटर बेड सर्पदंशका बिरामीले भरिने गरेका कमर बताउँछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij