Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

  • 390
    SHARES
  • करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

    पर्वत । झण्डै २ करोडको लागतमा बनेको सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन वर्षौदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका-१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन ।

    जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरण उपलब्ध भएपनि भवन प्रयोगविहीन भएको हो । स्थानीयवासीको बिरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण स्वास्थ्यचौकी भवन प्रयोगविहिन भएको हो ।

    खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सेवा सुरु हुन सकेको छैनन् । साढे एक तलाको ९ कोठे भवन करिब तीन रोपनीमा बनेको छ ।

    लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो । नयाँ भवन बनेपछि सेवा-सुविधा थप हुने आशामा बसेका स्थानीयवासी सेवा नपाउँदा निराश भएका छन् ।

    निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग सबै भासिएको थियो । पुनःनिर्माण सम्पन्न भएपछि पनि सेवा सुरु हुने गरी कार्यालय सर्न सकेको छैन । स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएपछि गाउँका सुत्केरीलाई स्वास्थ्य संस्थामै ल्याउने गरी जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्न सकिन्थ्यो ।

    तर अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताए । ‘बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो’, उनले भने ।

    बर्थिङ सेन्टरसहित सेवा विस्तार गर्न नयाँ भवनमा सर्ने अवस्था नभएपछि नगरपालिकासँग बजार क्षेत्रमा दुईवटा कोठा माग गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्यचौकीमा एक अधिकृतस्तरको सिनियर अहेब, १ स्टाफ नर्स, १ अनमी, २ पाँचौं तहका स्वास्थ्य सहयोगी र एक कार्यालय सहयोगी कार्यरत छन् ।

    दुईकोठे छाप्रोबाट सेवा दिनुपर्दा सबै कर्मचारी बस्ने कुर्ची अट्ने ठाउँ नभएको स्वास्थ्यकर्मीको गुनासो छ । २०७४ वैशाखमा भवन निर्माण सुरु भएको थियो । त्यसअघि नै स्थानीयवासीले विरोध जनाएका थिए । धाँजा फाटेको र पहिलेदेखि निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माण गरिएको स्थानीयवासीको भनाइ छ ।

    ‘हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौं’, स्थानीय एकनारायण श्रेष्ठले भने, “उतिबेला कुरा कसैले सुनेनन्, अहिले यो हालत भयो ।’ तत्कालीन दलीय संयन्त्रका नाममा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले पहिराको जोखिम भएको जग्गा छनोट गर्दा अहिले करोडौं राज्यकोषको रकम दुरूपयोग भएको भूपेन्द्र पोखरेलले बताए ।

    ‘अलि पल्तिरको डाँडाबारीमा जग्गा हुँदाहुँदै केही व्यक्तिले स्वार्थ पूरा गर्न यहाँ बनाए, हामीले विरोध गरेकै हो’, पोखरेलले भने, ‘ती व्यक्ति स्वार्थ पूरा भएपछि हराए, अहिले त्यसको मार हामी जनताले भोग्नुपरेको छ ।’

    स्वास्थ्य जस्तो गम्भीर विषयमा खेलवाड हुनु खेदजनक भएको स्थानीयवासीले बताएका छन् । भवन डिभिजन कार्यालय कास्कीमार्फत निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि पनि भवन संरक्षणकै लागि अरू लाखौं रकम खर्चिसकेको छ ।

    एक प्राविधिकका अनुसार उक्त भवन आसपासको जग्गाकै कारण भवन जोगाउन तीन पटकसम्म लागत अनुमान गरी काम भइसकेको छ । भवन भएको स्थानको दुवैतर्फ कच्ची सडक र जमिनको भागसमेत कमजोर हुँदा पहिरो खस्ने र धस्सिने क्रम रोकिएको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij