वेबटिभी खबर
चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा गराउनेको चाप बढ्दै गएपछि यहाँको शय्याले बिरामीकाे चाप धान्न मुस्किल हुँदै गएको छ । शय्या संख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।
गर्भवतीले परीक्षण निजीमा गर्दै आएपनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्दछन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइएको छ ।अस्पतालमा साउनयता पुस मसान्तसम्म ७ हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गतवर्ष योसंख्या ९ हजार ७६६ रहेको थियो ।
अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा.सुनिलमणि पोखरेलले दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताए । तीमध्ये ३० देखि ३३ प्रतिशतको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा योवर्ष संख्या निकै बढेको भन्दै उनले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको जानकारी दिए ।
अहिले बच्चा जन्माइसकेका आमाहरु ठाउँ अभावका कारण भुइँमा बस्नुपर्ने बाध्यता रहेको छ । पोखरेलले भने, ‘अहिले दैनिक १०/१५ जना भुइँमा सुत्न बाध्य छन् ।’ अस्पतालमा १५० शय्या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शय्या प्रसूतिका लागि छ ।
यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोखरेलले जानकारी दिए । उनले भने, ‘बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।’ चाहेर पनि शय्यामा राख्न नसकिएको उनको भनाइ छ । शल्यक्रिया गरेकालाई भुइँमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरुलाई भुइँमा राखिन्छ ।
शल्यक्रिया गरेकाहरुलाई सात/आठ दिनसम्म राख्नुपर्ने हुँदा शय्याको अभाव हुने गरेको हो । कोभिड प्रकोपसँगै पछिल्ला महिनाहरुमा १५ देखि २० जना संक्रमितको प्रसूति हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेल प्रसूति गर्नेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गरेका छन् ।
१६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् । डा.पौडेलले भने, ‘अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।’ अस्पतालले प्रसूति सेवामा राम्रो सेवा दिनका लागि आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए ।
पौडेलले भने, ‘संघीय अस्पताल भएकाले चितवनसहितका छिमेकी जिल्लाका महिलाहरुका लागि प्रसूति सेवाको केन्द्र बनेको छ ।’ अस्पतालले छुट्टै प्रसूति गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम अघि बढाएको छ । सुरुमा सुविधासम्पन्न ५० शय्या र थप गर्दै लैजाने गरी प्रसूति गृह निर्माण गर्न लागिएको उनको भनाइ छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुइँमा नै सुत्नु परेपनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताए । उनको भनाइमा अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् ।
उनले भने, ‘प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीं छैनन् ।’ भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याकं रहेको छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसैवर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिडका कारण प्रसूति गराउनेको संख्या घटेको थियो ।
भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा ३ लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० शय्या छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij