वेबटिभी खबर
चितवन । कोरोना भाइरस संक्रमणविरूद्धको खोप नलगाउनेहरूमा ‘‘ओमिक्रोन’’ काे जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको संक्रमण हुनसक्ने उनीहरूको दाबी छ ।
भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा.भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बढी खतरा हुने बताएका छन् ।
अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ‘ओमिक्रोन’ बाट संक्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको र खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी देखिएकाे डा.अधिकारीले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ समुदायमा छिटोछिटो फैलिएको छ ।’
२४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ‘ओमिक्रोन’ भएको भन्दै उनले कुनै पनि भाइरस स्वरूपपरिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जानसक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान सक्ने बताए ।
कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरून्त हराउने प्रकृतिको नभइ स्थिर पान्डेमिकको रूपमा बदलिइरहेर दुःख दिइरहन सक्ने देखिएको उनको भनाइ छ ।
‘ओमिक्रोन’ सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उनले बताए । उनले भने ‘अहिलेसम्मको तथ्याङ्कले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो नाक र स्वाशनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ ।’
भरतपुर सामुदायिक अस्पतालका फिजिसियन डा.महेन्द्र अग्रहरीले खोप लगाउनेलाई भन्दा नलगाएका व्यक्तिलाई यसले छिटो असर गर्ने बताए । ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान दुख्ने, थाक्ने जस्ता लक्षण यो भेरियन्टमा देखिने गरेको उनको भनाइ छ ।
डा.अग्रहरीकाे भनाइमा मौसमी फ्लू जस्तो मानेर मानिस परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्ने र अहिले दैनिक १० प्रतिशतका दरले बिरामी बढ्दै गएको बताउँदै गएको हुँदा यो रोग छिटो सर्ने भएकाले स्वास्थ्य मापदण्डपालना गर्नसमेत सबैलाई आग्रह गरेका छन् । उनले भने,‘पहिलाको जस्तो लक्ष्यण नभएकाले कोभिड नदेखिए पनि पिसिआर नेगेटिभ आउँदैमा ‘ओमिक्रोन’ होइन भन्न सकिने अवस्था छैन ।’
जिल्लामा हालसम्म ‘ओमिक्रोन’ को परीक्षण गर्ने प्रयोगशाला नरहेको बताउँदै उनले छिट्टै यस्तो प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । कोभिड विरूद्धको खोप लगाउन छुटेकालाई लगाउन आग्रह गर्दै चिकित्सक अग्रहरीले भने, ‘यसले मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएकालाई बढी जोखिम बनाउने हुँदा तत्काल खोप लगाउन आग्रह गर्दछु ।’
धेरैभन्दा धेरैलाई खोपको दायरामा ल्याएर जोखिममा रहेकालाई पहिचान गरी उनीहरूलाई बुस्टर डोज दिन समेत चिकित्सकहरूले सुझाव दिएका छन् । भेला, महोत्सव, मेला, सभासम्मेलन, भौतिक रूपमा विद्यालय र भीड्भाड हुने ठाउँलाई स्मार्ट लकाडाउनमार्फत व्यवस्थित गर्न जरूरी रहेको उनीहरूको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij